त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयन प्रक्रिया हाल ठप्प अवस्थामा छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले जेठ ६ गते शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए। तर एक महिनाभित्र पनि समितिको बैठक बसेको छैन र छलफल समेत सुरु भएको छैन। समिति गठन भएसँगै उपकुलपतिमा आकांक्षा राख्नेहरू सक्रिय बनेका छन्। शिक्षा मन्त्रालयमा आफ्नो बायोडेटा र कार्ययोजना बुझाउन चाहनेहरूको संख्या बढिरहेको छ। मन्त्रालय स्रोतका अनुसार शिक्षामन्त्रीलाई भेट्न आउनेहरू दिनप्रतिदिन बढेका छन्। ती आकांक्षीहरूले मन्त्रीलाई आफ्नो अनुभव सुनाउने, योजनाहरू प्रस्तुत गर्ने र बायोडेटा बुझाउने क्रम जारी राखेका छन्।
चैत १५ गते उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि वैशाख २ गतेसम्म त्रिवि उपकुलपति पद रिक्त रह्यो। त्यसपछि कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए। डा. केसीले दुई महिना नाघिसक्दा पनि स्थायी नियुक्ति प्रक्रिया अघि नबढ्दा नेतृत्वमा अन्योलता देखिएको छ। शिक्षा मन्त्रालयका अनुसार अहिलेसम्म १२ जना आकांक्षीले उपकुलपति पदका लागि बायोडेटा बुझाएका छन्। तीमध्ये धेरैजसो त्रिविमा कार्यरत पूर्वपदाधिकारी वा उपकुलपतिहरू हुन्। मन्त्रालय स्रोतका अनुसार यिनीहरू औपचारिक सूचना नभए पनि व्यक्तिगत प्रयासमार्फत आफ्नो नाम अगाडि बढाउने प्रयासमा छन्।
सबैभन्दा प्रमुख दाबेदारको रूपमा हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसीको नाम अगाडि छ। उनी त्रिविको रेक्टरको रूपमा १३ महिना कार्यरत थिए र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको नेतृत्व समेत गरिसकेका छन्। प्रधानमन्त्रीसँग उनको निकटता रहेको बताइएको छ। यसैगरी, पूर्वमध्यपश्चिम विश्वविद्यालय उपकुलपति डा. उपेन्द्र कोइरालाको नाम पनि आकांक्षीको सूचीमा छ। उनले पटक–पटक प्रधानमन्त्रीसँग भेट गरेका छन्। तर उनी विवादास्पद पृष्ठभूमिका व्यक्ति मानिन्छन्। उनी २०७७ मा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बन्न खोजेका थिए तर एमाले नेता ईश्वर पोखरेलका सम्धीसमेत रहेका कारण विवाद उत्पन्न भएपछि अध्यक्ष बन्न सकेनन् र अन्ततः सदस्यबाट समेत राजीनामा दिए।
अर्का आकांक्षी डा. नन्दबहादुर सिंह पनि मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। उनले त्रिविमा लामो समय काम गरेको अनुभव सुनाउँदै शिक्षामन्त्रीलाई भेटेर बायोडेटा बुझाएका छन्। त्रिविका पूर्वरजिस्ट्रार डिल्ली उप्रेती र मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशी पनि उपकुलपतिमा आकांक्षा राख्ने व्यक्तिहरू हुन्। समिति गठन भएको भए पनि उपकुलपति चयनको प्रक्रिया भने अघि बढ्न सकेको छैन। मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीले प्रक्रिया अघि बढाउने निर्देशन नदिएकाले शिक्षामन्त्रीले समितिको बैठक नै बोलाएका छैनन्। अझै पनि खुला प्रतिस्पर्धाबाट चयन गर्ने कि सिधै नाम सिफारिस गरेर नियुक्त गर्ने भन्ने विषयमा निर्णय नभएको बताइएको छ।
श्रोतहरूका अनुसार प्रधानमन्त्री ओली सिधै नाम सिफारिस गर्ने योजनामा छन्। सिफारिस समितिले पनि यही धारणा अनुसार तीनजनाको नाम सिधै कुलपतिलाई बुझाउने तयारी गरिरहेको बताइएको छ। त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ अनुसार उपकुलपति नियुक्तिका लागि कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा दुई सदस्यीय समितिको गठन गरी सिफारिसका आधारमा नियुक्ति गरिने उल्लेख छ। यही कानुनी प्रावधानअनुसार सिफारिस समितिले सिधै नाम पेश गर्न सक्ने भएकाले यही बाटो अपनाउने तयारी भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्