images
images

सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम क्षेत्रमा वर्षा गराउने प्रणाली विकास भई दक्षिण–पूर्वतिर फैलिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज मंगलबार बिहान करिब पौने ७ बजे सूचना जारी गर्दै सुदूरपश्चिमसहित लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अहिले वर्षा भइरहेको जानकारी दिएको हो। हाल विकसित प्रणालीका कारण ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका अनुसार अहिले देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। कोसी प्रदेशमा भने मनसुनी वायुले प्रभाव पारेको छ। २४ घण्टाको अवधिमा पानी पर्ने मात्राका आधारमा वर्षालाई वर्गीकृत गरिएको छ। १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ।

यस्तै, कुनै प्रदेशको कुल क्षेत्रफलको कति भागमा वर्षा हुने सम्भावना छ भन्ने आधारमा पूर्वानुमान यसरी गरिन्छ। १० प्रतिशतभन्दा कम क्षेत्रमा सम्भावना भएमा एक–दुई स्थानमा पानी पर्न सक्छ भनिन्छ। १० देखि ३० प्रतिशतसम्म सम्भावना भएमा थोरै ठाउँमा, ३० देखि ५० प्रतिशतसम्म सम्भावना भएमा केही ठाउँमा, ५० देखि ८० प्रतिशतसम्म सम्भावना भएमा धेरै ठाउँमा र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा सम्भावना भएमा अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

मौसम पूर्वानुमान महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन, सुरक्षित रहन र आवश्यक परे स्थानिय प्रशासनको निर्देशनअनुसार सावधानीपूर्वक चल्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्