images
images

आज र भोलि देशभर तातो मौसम, बुधबारदेखि वर्षा सुरु हुने अनुमान

काठमाडौं — देशभर बढिरहेको गर्मीको लहरले आज पनि निरन्तरता पाउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै भूभागमा सुक्खा अवस्था कायमै रहेकाले तापक्रम अझै बढ्नेछ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज र भोलिसम्म विशेष वर्षाको सम्भावना छैन, तर भोलिको रातिबाट वर्षा गराउने प्रणाली विकास हुने संकेत देखिएको छ।

मौसमविद् विनोद पोखरेलले पनि सोमबार र मंगलबार तापक्रम आइतबारभन्दा अझै उच्च हुने बताएका छन्। मंगलबारदेखि हल्का वर्षा सुरु हुने र बुधबारदेखि तापक्रम घट्दै जाने अनुमान गरिएको छ। यससँगै मनसुनले यो साताभरमा देशभर फैलिने सम्भावना रहेको पोखरेलको भनाइ छ। उनका अनुसार बिहीबारदेखि देशका केही स्थानहरूमा भारी वर्षा हुने जोखिमसमेत देखिएको छ। हालसम्म मनसुन कोसी प्रदेशबाट मात्र प्रवेश गरिसकेको छ भने अन्य प्रदेशमा अझै फैलन सकेको छैन। तापक्रमको हिसाबले काठमाडौंमा आज अधिकतम २९ देखि ३१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। आइतबार काठमाडौंमा ३०.४ डिग्री मापन गरिएको थियो।

आज कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्यतः सफा रहने सम्भावना छ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको छ। विभागका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशमा मनसुनी वायु सक्रिय छ। यो अवस्थाले मनसुनको विस्तार र वर्षाको सुरुवातलाई प्रभावित गर्ने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्