२४ जेठ, काठमाडौं — अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरू आज चार्टर्ड विमानमार्फत काठमाडौं आइपुग्ने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार अमेरिकाले उनीहरूलाई विशेष चार्टर्ड विमानमा पठाएको हो। विमान आज दिउँसो सवा ४ बजे काठमाडौंमा अवतरण गर्ने कार्यक्रम छ।
विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले नेपालीहरूको आगमन पुष्टि गर्दै डिपोर्ट गरिएकाहरूको संख्या भने हालसम्म निश्चित नभएको जानकारी दिए। उनका अनुसार अमेरिका सरकारले १०–१२ दिन अघि पठाएको पत्रमा “इमिग्रेशन कानुन उल्लंघन” गरेको उल्लेख छ, तर अवैध प्रवेश, ओभरस्टे वा अन्य कारण स्पष्ट गरिएको छैन।
अध्यागमन स्रोतका अनुसार सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी भए पनि केही रोकिएकाले संख्या घटेर करिब ४० जना हुनसक्ने अनुमान गरिएको छ। उक्त विमानले अन्य देशका डिपोर्ट गरिएका नागरिकहरूलाई पनि छाड्दै काठमाडौं आइपुग्नेछ।अमेरिकाले पछिल्ला वर्षहरूमा आप्रवासीमाथि कडाइ गर्दै आएको छ। भिसा म्याद ननभएको, अनुमति नलिएर प्रवेश गरेका, वा कानुनी उल्लंघन गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएर उनीहरूको मातृदेश फर्काउने नीति कार्यान्वयनमा ल्याइएको छ। त्यही नीति अन्तर्गत नेपालीहरू पनि डिपोर्ट हुँदै आएका छन्।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः कार्यकाल सुरु भएपछि सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र १४० जना नेपाली अमेरिका सरकारद्वारा डिपोर्ट भइसकेका छन्। जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ। यसअघि पनि नेपालीहरू डिपोर्ट हुने क्रम जारी थियो। सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिका सरकारद्वारा डिपोर्ट भएका थिए। डिपोर्ट हुने अधिकांश नेपालीहरू दलालको माध्यमबाट अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरू भएको बताइएको छ।
डिपोर्ट भई फर्किनेहरूलाई त्रिभुवन विमानस्थलमा सामान्य सोधपुछ गरिन्छ। उनीहरू घर पठाइन्छ, तर दलालविरुद्ध कसैले उजुरी गरेमा मात्र औपचारिक अनुसन्धान अघि बढ्ने गरिएको छ।










प्रतिक्रिया दिनुहोस्