काठमाडौँ, जेठ २४ — हाल देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव बढी देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भागहरूमा मौसम मुख्यतया सफा देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भागहरूमा मौसम प्रायः सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै छ। मौसमको यस अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।











प्रतिक्रिया दिनुहोस्