काठमाडौं, २० जेठ – काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई आफ्नो कार्यालय प्रवेशमा अवरोध गरेको आरोपमा निलम्बन गरेका हुन्। यसअघि उनले पाण्डेसँग सात बुँदे स्पष्टीकरण मागेका थिए।
गुरागाईंका अनुसार पाण्डेको स्पष्टीकरण चित्तबुझ्दो नलागेकाले निलम्बन गरिएको हो। महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी परिचालनको अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग रहने व्यवस्था छ। तर, पाण्डे मेयर बालेन्द्र साह (बालेन)सँग मात्र परामर्श गरेर काम गर्दै आएको भन्दै विवाद चुलिएको थियो। चैत २१ गते एसएसपी पाण्डेले गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि घटनाले व्यापक रुप लिएको हो। स्पष्टीकरणमा गुरागाईंको सरकारी गाडीमा ह्विल लक गरिएको, कार्यालयमा ताला लगाइएको, हाजिर पुस्तिका कब्जामा लिइएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको जस्ता विषय समेटिएका थिए।
पाण्डेले जेठ १२ गते आफ्नो जवाफ बुझाए पनि प्रशासन सन्तुष्ट नभएको भन्दै उनलाई निलम्बन गरिएको हो। अब यो विषय कार्यपालिका बैठकमा प्रस्तुत हुनेछ र थप निर्णय त्यहीँबाट गरिने बताइएको छ।यसबीच, पाण्डे निलम्बनमा परेसँगै नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीलाई दिने निर्णय भएको छ। स्रोतका अनुसार जोशीको नियुक्ति बुधबार पत्रमार्फत औपचारिक रूपमा गरिनेछ र त्यसपछि उनले कार्यभार सम्हाल्ने छन्।
पाण्डे मेयर बालेनका नजिकका अधिकारीका रूपमा चिनिँदै आएका थिए। उनी निलम्बनमा परेपछि महानगरभित्रको आन्तरिक शक्ति संघर्ष नयाँ चरणमा पुगेको छ। अब प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र मेयर साहबीचको सम्बन्ध र समन्वय कसरी अघि बढ्छ भन्ने प्रश्न उठ्न थालेको छ।










प्रतिक्रिया दिनुहोस्