काठमाडौँ । हाल देशभर विभिन्न वायू प्रणालीको प्रभाव देखिएको छ। पश्चिमी र स्थानीय वायुको असर देशको पश्चिम र मध्य भागमा देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायूको प्रभाव कायम छ।
यसको असरस्वरूप कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ। अन्य क्षेत्रको मौसम भने सामान्यतः सफा रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा तथा अन्य स्थानका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागहरूमा हल्का वर्षासहित हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षासहित हिमपात हुने अनुमान गरिएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्