काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालय संरक्षणलाई सबै नेपालीको साझा कर्तव्य भएको बताएका छन्।
मंगलबार आयोजित एभरेष्ट समिटियर सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पाण्डेले सफल आरोहण गर्ने सम्पूर्ण समिटियरहरूलाई बधाई दिएका थिए। साथै, उनले हिमाली संस्कृति, पर्यावरण र भावी पुस्ताका लागि हिमालहरूलाई सुरक्षित राख्नुपर्ने आवश्यकतामा जोड दिए।
“हामी केवल संसारको सर्वोच्च शिखर चुम्नुभएका व्यक्तिहरूलाई बधाई दिन आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न आएका हौँ,” मन्त्री पाण्डेले भने।
उनले शेर्पा समुदाय, पर्वत मार्गदर्शक (गाइड), उद्धार टोली तथा हिमाली क्षेत्रमा निरन्तर खटिने सबैप्रति विशेष धन्यवाद व्यक्त गर्दै भने, “उहाँहरूको समर्पणले पर्वतीय पर्यटनलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ।”
सरकारले पर्वतारोहण प्रवर्द्धनका लागि पूर्वाधार विकास, तालिम विस्तार र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री पाण्डेले हिमाली पर्यटनसँगै स्थानीय समुदायको समृद्धिमा समेत योगदान पुर्याउने दाबी गरे।
हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रण गर्दै मन्त्री पाण्डेले भने, “यी हिमालहरू पवित्र छन् र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो।”
जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली क्षेत्र संकटमा परेको उल्लेख गर्दै उनले भने, “अब समय आएको छ कि हामी हिमालहरूको संरक्षण सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक गर्नुपर्छ।” उनले सम्मेलनमार्फत सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरे। सम्मेलनका क्रममा स्वदेशी तथा विदेशी समिटियरहरूलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।













प्रतिक्रिया दिनुहोस्