१३ जेठ, काठमाडौं — सरकारले एकैपटक १० जना सचिवहरूको सरुवा गरेको छ। सोमबार (जेठ १२) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सिंहदरबारमा सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।
बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका १० सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ। साथै, प्रशासन सेवातर्फका सहसचिव भूपाल बराल र इञ्जिनियरिङ सेवातर्फका सहसचिव दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गरिएको छ।
त्यसैगरी, बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। साथै, सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ पारित गर्ने र विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रवृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
यस्तै, नेपाल कृषि अनुसन्धान परिषद् (NARC) को कार्यकारी निर्देशकमा वरिष्ठ वैज्ञानिक डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय भएको छ। साथै, ईपीएस (EPS) प्रणालीमार्फत नेपाली नागरिकलाई कोरियामा रोजगारीमा पठाउने सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै त्यसमा हस्ताक्षर गर्न समकक्षी तोक्न अख्तियारी प्रदान गर्ने निर्णय पनि भएको छ।










प्रतिक्रिया दिनुहोस्