काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षको बहसपछि आजै आदेश आउने तयारी छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा कार्कीका तर्फबाट बहस सकिएको छ। उनका पक्षलाई बहसका लागि डेढ घण्टा समय दिइएको थियो।
हाल महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी पक्षको बहस भइरहेको छ। सरकारी पक्षका लागि एक घण्टा समय छुट्याइएको छ। त्यसपछि नवनियुक्त आईजीपी मनोज केसीका तर्फबाट आधा घण्टा बहस हुने कार्यतालिका छ।
सबै पक्षको बहस सकिएपछि जवाफी बहससहित अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा आजै निर्णय गर्ने अदालतको तयारी रहेको छ।
सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। उक्त निर्णयलाई गैरकानुनी भन्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
रिटमा मनोज केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय बदर गरी आफूलाई पुनर्बहाली गर्न कार्कीले माग गरेका छन्। अब सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत उनको माग सम्बोधन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।








प्रतिक्रिया दिनुहोस्