काठमाडौं । भारतको राजकीय भ्रमणका क्रममा २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता घोषणा गराएर फर्किएका प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश उँभो लाउने टोली’को संज्ञा दिएका छन्।
प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको संयुक्त तस्बिर राख्दै लेखेका छन्, ‘देश उँभो लाउने टोली।’ उनले दुवै मन्त्रीको प्रशंसा गर्दै ‘निक्कै मिहिनेती मान्छेहरू’ समेत भनेका छन्।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा सहभागी भएका थिए। भ्रमणकै क्रममा तीनै जनाले संयुक्त तस्बिर खिचाएका थिए।
प्रधानमन्त्रीले ‘देश उँभो लाउने टोली’ भन्दै प्रशंसा गरेका बेला भारतले नेपालका लागि घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता भने पूर्ण अनुदान नभई ऋण र अनुदानको मिश्रण हो।
नेपाल–भारत संयुक्त विज्ञप्तिअनुसार उक्त सहायता प्याकेजमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ। अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनामा प्रयोग गरिनेछ भने ऋण ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरिने उल्लेख छ।
यसरी भारतबाट घोषणा भएको कुल सहायता रकमको करिब ७७ प्रतिशत ऋण र २३ प्रतिशत मात्रै अनुदान हो। अर्थात् विकासका लागि घोषणा गरिएको ठूलो रकम नेपालले ऋणका रूपमा लिनुपर्नेछ।
प्रधानमन्त्री शाहले मन्त्रीद्वयलाई ‘देश उँभो लाउने टोली’ भने पनि उक्त ऋणको प्रभावकारी उपयोग, परियोजनाको प्रतिफल र दीर्घकालीन आर्थिक लाभ सुनिश्चित गर्नु सरकारका लागि महत्त्वपूर्ण चुनौती हुनेछ।








प्रतिक्रिया दिनुहोस्