काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ। दुवै प्रधानमन्त्रीबीच अहिले द्विपक्षीय भेटवार्ता जारी छ।
भेटअघि प्रधानमन्त्री शाहलाई हैदरावाद हाउसमा भारतीय सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो। त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई न्यानो स्वागत गर्दै अंकमाल गरेका थिए।
गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए। त्यसपछि उनी हैदरावाद हाउस पुगेका हुन्।
दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने कार्यक्रम छ। त्यसक्रममा विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त सञ्चारमाध्यम सम्बोधन तय गरिएको छ।
कार्यतालिकाअनुसार दिउँसो १२ः३५ बजे विकास परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त प्रेस सम्बोधन हुनेछ। त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आज साँझ ४ः५० बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।








प्रतिक्रिया दिनुहोस्