images
images

प्रहरी तालिमदेखि स्याटेलाइट नेटवर्कसम्म : नेपाल–भारतका ८ समझदारी के हुन् ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक तालिम, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालनलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो।

दुई देशबीच भएका समझदारीले संस्थागत सहकार्य, प्राविधिक क्षमता अभिवृद्धि, तालिम, अनुसन्धान तथा विभिन्न विकास क्षेत्रमा साझेदारीलाई अघि बढाउने लक्ष्य राखेको छ।

नेपाल–भारतबीच भएका ८ समझदारीका क्षेत्र यस्ता छन् :

१. फरेन्सिक विज्ञानमा सहकार्य

गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान तथा प्राविधिक सहकार्य गर्ने समझदारी भएको छ।

२. प्रहरी प्रशिक्षण

भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षण तथा क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने समझदारी भएको छ।

३. प्रशासनिक अधिकारीहरूको तालिम

भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूलाई तालिम तथा प्रशिक्षण प्रदान गर्ने विषयमा सहकार्य हुनेछ।

४. आयुर्वेद तथा परम्परागत चिकित्सा

नेपाल र भारतबीच आयुर्वेद तथा उपचारका अन्य परम्परागत पद्धतिमा ज्ञान, अनुभव र अभ्यास आदानप्रदान गर्दै सहकार्य गर्ने समझदारी भएको छ।

५. स्याटेलाइट सञ्चार

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण तथा सञ्चालनसम्बन्धी सहकार्य गर्ने समझदारी भएको छ।

६. सहरी विकास

दुवै देशले दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहयोग, अनुभव आदानप्रदान तथा सहकार्य गर्ने भएका छन्।

७. स्वास्थ्य तथा चिकित्सा

स्वास्थ्य सेवा र चिकित्सासम्बन्धी क्षेत्रमा नेपाल र भारतबीच सहकार्य, अनुभव आदानप्रदान तथा साझेदारीलाई अघि बढाउने समझदारी भएको छ।

८. पशुपालन तथा मत्स्यपालन

पशुपालन र मत्स्यपालन क्षेत्रको विकास, प्रविधि तथा अनुभव आदानप्रदान र उत्पादन क्षमता अभिवृद्धिका लागि दुवै देशले सहकार्य गर्ने समझदारी गरेका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका यी समझदारीले नेपाल–भारतबीच विभिन्न क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्