images
images

एसिया कप राइजिङ स्टार्स : नेपाललाई आज पाकिस्तान ‘ए’को चुनौती

काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल दिउँसो ३ः४५ बजे दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै यूएईलाई ६ विकेटले पराजित गरेको थियो।

आज पाकिस्तान ‘ए’लाई हराउँदै नेपाल जितको लय कायम राख्न चाहन्छ। तर पाकिस्तान ‘ए’ भने लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ। उसले पहिलो खेलमा यूएई र दोस्रो खेलमा भारत ‘ए’लाई पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

नेपाल र पाकिस्तान ‘ए’बीच यसअघि सन् २०२३ को इमर्जिङ कपमा एकपटक प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो।

त्यस खेलमा पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भएको थियो। नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

यसर्थ आजको खेलमा नेपालसँग तीन वर्षअघिको हारको बदला लिने अवसरसमेत हुनेछ।

प्रतिक्रिया दिनुहोस्