काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता पूरै अनुदान नभई ऋण र अनुदान दुवै समेटिएको प्याकेज हो।
भारतले घोषणा गरेको कुल सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको नेपाल–भारतबीच जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिअनुसार भारतले उपलब्ध गराउने कुल सहायता प्याकेजमा ३ हजार ५ सय करोड भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ अनुदान रहनेछ। उक्त अनुदान नेपालमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजना निर्माणमा प्रयोग गरिनेछ।
त्यस्तै, कुल सहायता रकमको ठूलो हिस्सा अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँ भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ। उक्त ऋण नेपालको ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ।
यसरी भारतले घोषणा गरेको कुल २ खर्ब ४० अर्ब रुपैयाँमध्ये करिब २३.३३ प्रतिशत अनुदान र ७६.६७ प्रतिशत ऋण रहेको छ।
अर्थात् भारतले घोषणा गरेको सहयोगको अधिकांश हिस्सा ऋण हो। अनुदानका रूपमा प्राप्त हुने रकम फिर्ता गर्नुपर्ने छैन भने सहुलियतपूर्ण ऋण भने तोकिएका सर्तअनुसार फिर्ता गर्नुपर्ने हुन्छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा घोषणा गरिएको यो सहायता प्याकेजलाई नेपालका पूर्वाधार तथा ऊर्जा क्षेत्रका परियोजनामा लगानी गर्ने उद्देश्यले अघि सारिएको छ।








प्रतिक्रिया दिनुहोस्