images
images

दसैँको बिदामा पनि चम्किएनन् नेपाली फिल्म, व्यापार कमजोर

काठमाडौं । चाडपर्वमा दर्शकको आकर्षण बढ्ने अपेक्षासहित फिल्म प्रदर्शन गर्न निर्माता दसैँलाई उपयुक्त समय मान्छन्। यही कारण हरेक वर्ष दसैँको अवसर पारेर धेरै नेपाली फिल्म प्रदर्शनमा आउँछन्। यस वर्ष पनि दसैँको छेकोमा तीनवटा नेपाली फिल्म एकसाथ हलमा आए। तर, अपेक्षाअनुसार दर्शक तान्न भने सकेनन्।

दसैँको मुखमा ‘आ बाट आमा–२’, ‘१२ गाउँ–२’ र ‘छ माया छपक्कै–२’ प्रदर्शनमा आएका थिए। दसैँको पर्सिपल्ट कात्तिक ६ गतेदेखि ‘कबड्डी ५’ पनि हलमा लागेको छ। चाडपर्वको माहोलमा दर्शकको साथ पाउने अपेक्षासहित प्रदर्शनमा आएका फिल्मको व्यापार भने कमजोर देखिएको छ।

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार ‘आ बाट आमा–२’, ‘१२ गाउँ–२’ र ‘छ माया छपक्कै–२’ को कमाइ अपेक्षाअनुसार उत्साहजनक देखिएको छैन।

बोर्डको विवरणअनुसार ‘आ बाट आमा–२’ ले ४ करोड ११ लाख ४६ हजार रुपैयाँ कमाएको छ। फिल्मका १ लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन्। त्यस्तै, ‘छ माया छपक्कै–२’ ले २ करोड ७६ लाख ३९ हजार रुपैयाँ कमाउँदा ८२ हजार ७८९ टिकट बिक्री भएका छन्।

‘१२ गाउँ–२’ को कुल कमाइ १ करोड ८३ लाख ९४ हजार रुपैयाँ पुगेको छ। फिल्मका ५७ हजार ९८३ टिकट बिक्री भएका छन्।

दसैँजस्तो दर्शकको चहलपहल बढ्ने समयमा प्रदर्शनमा आएका यी फिल्मको व्यापारले निर्माताको अपेक्षा पूरा गर्न नसकेको बोर्डको बक्स अफिस विवरणले देखाउँछ। चाडपर्वको समयमा फिल्म प्रदर्शन गर्दा दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिए पनि यसपटक त्यो अपेक्षा तीनवटै फिल्मको कमाइमा प्रतिबिम्बित हुन सकेन।

प्रतिक्रिया दिनुहोस्