काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सानेपास्थित पार्टी कार्यालयमा जारी मतगणना आजै राति सक्ने तयारी गरिएको छ। निर्वाचन समितिले राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणनालाई तीव्रता दिएको जनाएको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार विभिन्न समूह बनाएर मतगणना भइरहेको छ। आवश्यक परे गणनास्थल थप गरेर भए पनि आजै रातिसम्म सबै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए।
मतगणनाका क्रममा दलिततर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन्। उनले चार हजार ८०३ मत प्राप्त गर्दा प्रतिस्पर्धी मानबहादुर नेपालीले एक हजार १२० र नरेन्द्र पासवानले ७७२ मत प्राप्त गरेका छन्।
त्यस्तै, दलित महिलातर्फका पाँच केन्द्रीय सदस्यमा सीता मिजार, शान्ति परियार (विaक), रुपा विक, कमला नेपाली र छायाँ सुनुवार निर्वाचित भएका छन्। मिजारले तीन हजार ४३३, परियारले दुई हजार ९६४, विकले दुई हजार ६४९, नेपालीले दुई हजार ५५३ र सुनुवारले दुई हजार ११२ मत प्राप्त गरेका छन्।
दलित मधेसीतर्फ धर्मेन्द्र पासवान तीन हजार १०५ मतसहित निर्वाचित भएका छन्। उक्त समूहमा राजकुमार पासवानले एक हजार २३३, चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६ र मानवीर रजक साफीले ३११ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार अहिले मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य, मधेस प्रदेश महिला केन्द्रीय सदस्य, खुला, ३५ वर्षमुनिका युवा महिला तथा पुरुष र खुलातर्फका उम्मेदवारको मतगणना भइरहेको छ।
असोज २३ गते भएको मतदानबाट सभापति, उपसभापति र महामन्त्रीसहित प्रमुख पदाधिकारीको परिणाम सार्वजनिक भइसकेको छ। सहमहामन्त्री खसआर्य तथा केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भइरहेको छ।
संयोजक खड्काका अनुसार खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।











प्रतिक्रिया दिनुहोस्