गोरखा । बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा रहेका नागरिक फसेका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
उनका अनुसार बाढी गएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो। सोमबार ३२१, मंगलबार १८६ र बुधबार ४४१ जनाको उद्धार भएको थियो।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि भइरहेको शर्माले बताए। सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको छ।
बाढीले सडक तथा पदमार्गमा क्षति पुर्याएपछि उद्धार र राहत सामग्री ढुवानीमा हेलिकोप्टर प्रयोग गर्नुपरेको उनले बताए। उद्धारका लागि जाने हेलिकोप्टरले राहत सामग्री लैजाने र फर्किँदा प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गरेर ल्याउने गरिएको उनको भनाइ छ।
रेडक्रसद्वारा राहत तथा स्वयंसेवक परिचालन
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा प्रतिकार्य तथा राहत वितरणलाई तीव्रता दिएको छ।
रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुरका पूर्वी तथा पश्चिमी क्षेत्रमा रहेका स्वयंसेवक परिचालन गरिएको थियो। उनीहरूले पूर्वसूचना प्रवाह गर्नुका साथै राहत तथा प्रतिकार्यका काम गरिरहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा प्रभावित क्षेत्रमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत गैरखाद्य सामग्री पठाइएको खनालले बताए। अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्टसमेत प्रभावित क्षेत्रमा पुर्याइएको उनले जानकारी दिए।
बाढीबाट भएको क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति परिचालन गरिसकिएको र सरकारसँगको समन्वयमा थप आवश्यक सामग्री पठाउने काम भइरहेको खनालले बताए। प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउन रेडक्रसका स्वयंसेवक सक्रिय रहेको उनले उल्लेख गरे।











प्रतिक्रिया दिनुहोस्