काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ। तर, खाद्यान्न, लत्ताकपडा, तरकारी, फलफूल र मासुजन्य वस्तुको मूल्य बढेपछि उपभोक्ता भने चिन्तित बनेका छन्।
भोटाहिटी, असन, इन्द्रचोक, ठमेल, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका बजारमा दसैँका लागि लत्ताकपडा तथा आवश्यक सामग्री खरिद गर्नेको भीड लागेको छ। बजारमा चहलपहल बढे पनि बढ्दो महँगीका कारण चाडपर्वको खर्च धान्न कठिन भएको उपभोक्ताको गुनासो छ।
काठमाडौँ महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा दसैँ मनाउनसमेत कठिन हुन थालेको बताए। उनका अनुसार जिरा मसिनो चामलको एक बोरामा ३०० रुपैयाँसम्म मूल्य बढेको छ भने खसीको मासुको मूल्य प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्म महँगिएको छ।
“न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ,” उनले भने।
तिनकुनेकी स्मिता खत्रीलाई पनि यस वर्ष तीन सन्तानका लागि नयाँ लुगा किन्न सहज भएन। मूल्य बढे पनि दसैँमा छोराछोरीलाई नयाँ लुगा किनिदिनैपर्ने बाध्यता रहेको उनले बताइन्।
“दसैँमा एकसरो लुगा त फेरिदिनुपर्यो नि। सीमित आयस्रोत हुनेलाई दसैँ त दशाजस्तै हुने भयो,” उनले भनिन्।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यस वर्ष खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक वस्तुको मूल्य उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार ताजा तरकारी, फलफूल र मासुजन्य पदार्थको मूल्यसमेत बढेको छ।
तिमल्सिनाले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले नियमित बजार अनुगमन गर्नुपर्नेमा जोड दिए। आपूर्ति शृङ्खला व्यवस्थित गर्दै बजारमा मूल्य नियन्त्रणका लागि सरकारी निकायले प्रभावकारी हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ।
बजारमा मूल्यवृद्धि हुनुको एउटा कारण चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका अवरुद्ध हुनुलाई पनि मानिएको छ। नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा चीनबाट सामान आयात गर्न कठिनाइ भइरहेको बताए।
उनका अनुसार दसैँलगायत चाडपर्वलाई लक्षित गरी चीनबाट ल्याउन लागिएका करिब पाँच अर्ब रुपैयाँ बराबरका सामान नाकामै रोकिएका छन्। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चीनतर्फका दुई नाका अवरुद्ध हुँदा व्यापारमा समेत असर परेको उनको भनाइ छ।
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ। विभागका महानिर्देशक रितेशकुमार शाक्यका अनुसार अहिले दैनिक २५ देखि ५० वटा फर्म तथा कम्पनीको अनुगमन भइरहेको छ।
अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने व्यापारी तथा व्यवसायीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको उनले बताए। शाक्यले सबै व्यापारी तथा व्यवसायीलाई तोकिएको मूल्यअनुसार वस्तु तथा सामान बिक्रीवितरण गर्न आग्रह गरेका छन्।
दसैँको किनमेलका लागि बजारमा उपभोक्ताको भीड बढ्दै जाँदा मूल्यवृद्धि नियन्त्रण, सहज आपूर्ति र प्रभावकारी बजार अनुगमनको आवश्यकता पनि बढेको छ। विशेषगरी सीमित आम्दानी भएका परिवारलाई चाडपर्वको खर्च व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा सरकारले बजारलाई व्यवस्थित बनाउनुपर्ने उपभोक्ताको अपेक्षा छ।











प्रतिक्रिया दिनुहोस्