काठमाडौं । दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बजार, सार्वजनिकस्थल, यातायात केन्द्र, वित्तीय संस्था तथा सर्वसाधारणको बढी चहलपहल हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेल गर्ने र यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
परिचालित प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन्। उनीहरूले सार्वजनिकस्थल र भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधि पहिचान गर्ने तथा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्नेछन्।
प्रहरीले नियमित गस्तीका अतिरिक्त ड्रोन क्यामेरा, सामाजिक सञ्जाल, सामुदायिक सेवा केन्द्र र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्ने जनाएको छ। जनशक्ति र प्रविधिको समन्वयबाट सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने प्रहरीको योजना छ।
चाडपर्वका समयमा किनमेल गर्ने र घर फर्किने यात्रुको सङ्ख्या बढ्ने भएकाले बजार, बसपार्क, सार्वजनिक यातायातका केन्द्र तथा वित्तीय संस्थाको आसपासका क्षेत्रमा विशेष निगरानी राखिएको छ। पाकेटमारी, चोरी, ठगी र आर्थिक कारोबारका क्रममा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी टोलीलाई सक्रिय बनाइएको परिसरले जनाएको छ।
सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी योजना लागू गरिएको प्रहरी उपरीक्षक थापाले बताए। ती क्षेत्रमा सम्बन्धित प्रहरी वृत्तका प्रमुखले सुरक्षा व्यवस्थाको प्रत्यक्ष निगरानी गर्नेछन् भने जिल्ला प्रहरी परिसरले समग्र योजनाको अनुगमन गर्नेछ।
सुरक्षा योजनाअन्तर्गत नियमित गस्ती, शङ्कास्पद गतिविधिको निगरानी र आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ। परिसर प्रमुखसहित वरिष्ठ प्रहरी अधिकृतसमेत सुरक्षा योजनाको कार्यान्वयन तथा अनुगमनमा खटिनेछन्।
चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने, बजारमा किनमेल गर्नेको भीड लाग्ने र विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि हुने भएकाले सुरक्षा चुनौती बढ्न सक्ने प्रहरीको आकलन छ। त्यसलाई ध्यानमा राखेर सार्वजनिक स्थानदेखि भीडभाड हुने बजारसम्म निगरानी बढाइएको हो।
प्रहरीले नागरिकलाई पनि आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।











प्रतिक्रिया दिनुहोस्