काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले चार मुलुकका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न गरेको छ।
समितिका सभापति बोधनारायण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चरिनजङ्ग थापा र बेलायतका लागि प्रस्तावित गौरवशमशेर जबराको सुनुवाइ गरेको हो।
सुनुवाइका क्रममा चारै जना प्रस्तावित राजदूतले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। सांसदहरूले उनीहरूका योजनामाथि जिज्ञासा राख्दै विभिन्न प्रश्नसमेत गरेका थिए।
प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने, द्विपक्षीय सहकार्य विस्तार गर्ने, द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने तथा व्यापार र कनेक्टिभिटी सुधारका लागि पहल गर्ने योजना प्रस्तुत गरेका थिए।
यसअघि समितिले प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीमाथि सुनुवाइ गरेको थियो।
समितिले मंगलबार (असोज २७ गते) बिहान ९ः३० बजे बस्ने बैठकमा थप पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ गर्ने जनाएको छ।
उक्त बैठकमा जर्मनीका लागि प्रस्तावित सरू जोशी, इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्ण, ओमानका लागि प्रस्तावित पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रस्तावित प्रा. डा. सङ्गम श्रेष्ठ र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ हुनेछ।











प्रतिक्रिया दिनुहोस्