काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा यात्रा गर्ने महिला यात्रुलाई क्याबिन सिटमा नराख्न देशभरका यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले महिला यात्रुलाई क्याबिन सिटमा राख्दा उनीहरूको सुरक्षा र सहजतामा समस्या हुन सक्ने भन्दै यस्तो व्यवस्था गरिएको बताए ।
‘क्याबिनमा महिला यात्रुलाई राख्दा उनीहरूलाई असहज महसुस हुन सक्छ । त्यसैले महिला दिदीबहिनीलाई क्याबिन सिटमा नराख्न र उनीहरूका लागि सुरक्षित सिटको व्यवस्था गर्न देशभरका कर्मचारीलाई निर्देशन दिएका छौँ,’ सिटौलाले भने ।
महासंघले उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवसायी तथा कर्मचारीलाई आग्रह गरेको छ । महिला यात्रुलाई क्याबिनमा राखेको वा टिकट काट्दा सुरक्षित सिटको व्यवस्थामा बेवास्ता गरेको पाइएमा सम्बन्धित निकायबाट कारबाही हुने चेतावनीसमेत महासंघले दिएको छ ।
दसैँ–तिहारलगायत चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने भएकाले महिला यात्रुलाई क्याबिनमा कोचेर लैजाने प्रवृत्ति रोक्न अग्रिम टिकट बुकिङमै विशेष निगरानी बढाइएको महासंघले जनाएको छ ।
महासंघले यात्रुलाई टिकट काट्ने क्रममा आफ्नो सिट नम्बर र सिटको स्थानबारे निश्चित हुन आग्रह गरेको छ । टिकट काउन्टरबाटै महिला यात्रुका लागि सुरक्षित सिटको व्यवस्था गर्नुपर्ने जनाएको छ ।
‘हामीले गाडीका कर्मचारीलाई महिला यात्रुलाई प्राथमिकताका साथ सुरक्षित सिटमा राख्न र क्याबिन सिटमा नराख्न स्पष्ट भनिसकेका छौँ,’ अध्यक्ष सिटौलाले भने ।











प्रतिक्रिया दिनुहोस्