images
images

६० वर्षमा नेपालको अर्थतन्त्र एक वर्ष पनि दोहोरो अंकले बढेन : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक परिवर्तन भए पनि नेपालले आर्थिक विकासमा अपेक्षित गति लिन नसकेको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले पछिल्लो समय नेपालभन्दा पछि रहेका देशहरू विकास र आर्थिक वृद्धिमा धेरै अघि बढिसकेको बताए । नेपालमा भने राजनीतिक स्वार्थ, अस्पष्ट कार्ययोजना र दीर्घकालीन सोचको अभावका कारण विकासले गति लिन नसकेको उनको भनाइ थियो ।

भट्टराईले नेपालको अर्थतन्त्र विगत ६० वर्षमा एक वर्ष पनि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिमा जान नसकेको बताए । उनका अनुसार सिंगापुर, दक्षिण कोरिया र चीनजस्ता देशले केही वर्ष लगातार दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्दै कृषि अर्थतन्त्रबाट औद्योगिक अर्थतन्त्रतर्फ फड्को मारेका छन् ।

युरोप र अमेरिकाले लामो समयअघि नै विकासमा ठूलो फड्को मारेको उल्लेख गर्दै उनले पछिल्लो चरणमा विकासमा अघि बढेका कतिपय देशले समेत नेपाललाई पछाडि छाडिसकेको बताए ।

नेपालमा अहिले पनि बेरोजगारी ठूलो समस्या रहेको भन्दै भट्टराईले लाखौँ युवा रोजगारी र अवसरको खोजीमा विदेशिन बाध्य भएको बताए । उनका अनुसार कोही रोजगारीका लागि त कोही अध्ययनका नाममा विदेश गएका छन् ।

राजनीतिक परिवर्तन भए पनि देशको विकास, सुशासन र आर्थिक समृद्धिका लागि स्पष्ट नीति तथा दीर्घकालीन रणनीति बन्न नसकेको भट्टराईले बताए । राजनीतिक दल र नेतृत्वले देश विकासको स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्