काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन् । वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
२६ पदाधिकारीसहित ९९ पदका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको थियो । तर पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भएकाले उनको पक्षमा पनि मतदान भएको थियो ।
यसैगरी उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन् । उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा थिए । पराजित हुनेमा परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरादेवी बैठा र रोशन खातुन छन् ।
महासचिवमा सञ्जयकुमार यादव ६१८ मतसहित विजयी भएका छन् । महासचिव पदका अन्य उम्मेदवार ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत प्राप्त गरे । उनीहरूले पार्टी विधानमा तोकिएको २० प्रतिशत मतको सीमा पार गर्न नसकेको जनमत पार्टीले जनाएको छ ।
उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे ।
सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् । सात सचिव पदका लागि नौ जना चुनावी प्रतिस्पर्धामा थिए । वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह भने पराजित भएका छन् ।
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको आगामी सङ्गठनात्मक तथा राजनीतिक गतिविधिलाई अघि बढाउनेछ ।











प्रतिक्रिया दिनुहोस्