काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । असोज २२ गतेसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ ।
महाधिवेशन तालिकाअनुसार आज उद्घाटन सत्र हुनेछ भने असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ । लगातारको वर्षाका कारण यसअघि असोज १६ गतेका लागि निर्धारित महाधिवेशन दुई दिन पछि सारिएको हो ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा देश तथा विदेशबाट करिब सात हजार ७०० प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनका लागि खुलामञ्चमा उद्घाटन मञ्च निर्माण गरिएको छ भने बन्दसत्र सञ्चालन गर्न हिमाल, पहाड र तराई–मधेस नामका तीन ठूला हल तयार पारिएका छन् । ती हलमा भूगोलका आधारमा प्रतिनिधि विभाजन गरी प्रतिवेदनमाथि छलफल गराइनेछ ।
महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम छ । कांग्रेसले सार्वजनिक गरेको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सहभागी हुनेछन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन समारोहमा सहभागी हुने जनाइएको छ ।
महाधिवेशनका लागि प्रतिनिधिको आवास व्यवस्थापन काठमाडौंका गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलङ्की र नयाँ बसपार्कलगायत क्षेत्रमा गरिएको छ । बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ । महाधिवेशनस्थलमा सञ्चार केन्द्र र प्राथमिक स्वास्थ्य उपचार केन्द्र पनि स्थापना गरिएको छ ।
विपद्पछिको परिस्थितिलाई ध्यानमा राख्दै कांग्रेसले महाधिवेशनमा भड्किलो प्रचारप्रसार नगर्ने नीति लिएको छ । निर्वाचन समितिले महाधिवेशनस्थल र आसपासमा पोस्टर, पम्प्लेट, ब्यानर तथा फ्लेक्स राख्न वा वितरण गर्न रोक लगाएको छ । उम्मेदवारलाई डिजिटल माध्यमबाट मात्रै प्रचारप्रसार गर्न आग्रह गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ । यसपटक कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ, जसमा १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अन्य व्यक्तिका सवारीसाधनका लागि विभिन्न आठ स्थानमा पार्किङको व्यवस्था गरिएको छ । त्यस्तै, ३० जना स्वास्थ्यकर्मीसहितको स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको छ । आकस्मिक उपचारका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिने आयोजकले जनाएको छ ।
यसपटकको महाधिवेशनमा युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाउने व्यवस्थालाई पनि प्राथमिकता दिइएको छ । विधानअनुसार ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । केन्द्रीय कार्यसमितिमा महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । विभिन्न पेसा तथा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्ति, विदेशस्थित जनसम्पर्क समिति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्र, श्रमिक तथा सहिद परिवार र द्वन्द्वपीडितको प्रतिनिधित्वका लागि पनि प्रावधान राखिएको छ ।
कांग्रेसले विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरे पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीबाटै नेतृत्व चयन गर्ने निर्णय गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र सङ्गठन सुधारका विषयमा समेत छलफल गर्नेछ ।











प्रतिक्रिया दिनुहोस्