काठमाण्डौ । लामो समयदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावरको निर्माण सम्पन्न गरी दसैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौंडा–ढल्केबर सबस्टेशनको निरीक्षण गर्दै प्रसारणलाइन निर्माणको प्रगति अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रिय विद्युत् प्रणालीको महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको आयोजनाको बाँकी काम शीघ्र सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री श्रेष्ठले प्रसारणलाइन सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, सन्तुलित र गुणस्तरीय हुने बताए।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारणलाइनमा रहेका कुल १६ टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण सम्पन्न भइसकेका छन्। बाँकी दुईवटा मल्टिसर्किट टावरको निर्माण पनि अन्तिम चरणमा पुगेको छ।
मन्त्रिपरिषद्को निर्णयमार्फत विवाद समाधान गरी अघि बढाइएको उक्त आयोजना अबको १० देखि १५ दिनभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ।
प्रसारणलाइन सञ्चालनमा आएपछि देशभित्रको विद्युत् आपूर्ति प्रणाली थप मजबुत हुनुका साथै औद्योगिक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् खेर जान नदिन तथा भारतलगायत छिमेकी मुलुकसँगको अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न पनि यस प्रसारणलाइनले महत्वपूर्ण भूमिका खेल्ने प्राधिकरणले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्