images
images

एआईआईबीको उपाध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी एक वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा चयन गरिएको हो ।

एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ । यसपटक गैर–क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्यान्ड पनि उपाध्यक्ष पदमा चयन भएको छ ।

वार्षिक बैठकका क्रममा अर्थमन्त्री तथा एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन् ।

बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधारमा हुने पुँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको महत्वपूर्ण आधार रहेको बताए ।

उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए । नेपालजस्ता विकासशील मुलुकको आवश्यकता र प्राथमिकतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने गरी बैंकले वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने आवश्यकता पनि औंल्याए ।

प्रतिक्रिया दिनुहोस्