काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ निजीक्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयले सरकारको निजीक्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट हुन नसकेको बताए। उनका अनुसार देशको अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन प्रधानमन्त्रीले स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्न आवश्यक छ।
“अहिलेको प्रधानमन्त्रीलाई निजीक्षेत्र हेर्नै मन पर्दैन। यो मेरो आफ्नो बुझाइमा मात्र होइन, हि हेट्स प्राइभेट सेक्टर,” थापाले भने।
सरकारी उद्योग सञ्चालनको विषयलाई छुट्टाछुट्टै निर्णयका रूपमा नभई समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो। दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडजस्ता सरकारी उद्योग सञ्चालन गर्नुभन्दा अर्थतन्त्रमा निजीक्षेत्रको भूमिका विस्तार गर्ने नीति आवश्यक रहेको उनले बताए।
थापाले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीको आर्थिक दृष्टिकोणले नै मुलुकको गन्तव्य निर्धारण गर्ने बताए।
“अहिले उनका पछिल्ला समयका कतिपय अभिव्यक्ति र निर्णयहरू यस्तै छन्। मैले अस्ति पार्टीको केन्द्रीय समितिको बैठकमा पनि लामो समय लिएर यो कुरा भनेको छु,” उनले भने।
सरकारी उद्योग सञ्चालनबारे आफ्नो धारणा स्पष्ट पार्दै थापाले ती उद्योग चलून् र नाफा कमाऊन् भन्ने आफ्नो चाहना भए पनि राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाले समग्र अर्थतन्त्रको अवस्था र बदलिँदो आर्थिक परिवेशलाई ध्यान दिनुपर्ने बताए।
“दुग्ध विकास संस्थान, हेटौँडा कारखाना र नेपाल औषधि लिमिटेड चलून्, मुनाफा कमाउन् भन्ने मेरो शुभेच्छा छ। तर स्टेट चलाउने मान्छेले आजको दिनमा इकोनोमी कस्तो छ भनेर हेर्नुपर्छ,” थापाले भने।














प्रतिक्रिया दिनुहोस्