images
images

सत्ता र प्रतिपक्षको सोचभन्दा माथि उठेर जलवायु न्यायका लागि जुटौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिको समयमा सत्ता पक्ष र प्रतिपक्षको परम्परागत राजनीतिक सोचभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै लामिछानेले भोटेकोशी बाढीले पुर्‍याएको क्षतिले सबैलाई एक ठाउँमा उभिने अवस्था सिर्जना गरेको बताए। उनले विपत्तिको समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा मानवीयता र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सरकारले विपत्तिपछि दिनरात नभनी उद्धार तथा खोजीमा सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै लामिछानेले प्रियजन गुमाएका परिवारबाट राज्यले केही गरेन भन्ने गुनासो आउनुलाई अस्वाभाविक मान्न नहुने बताए।

“गहिरो चोटमा परेको मानिसले भगवान्लाई त सराप्छ भने सरकार, रास्वपा र राज्यप्रति गुनासो तथा आक्रोश पोख्नु ठूलो कुरा होइन,” उनले भने।

पीडामा रहेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत गरिने अवाञ्छित टिप्पणीप्रति भने उनले आपत्ति जनाए। त्यस्ता गतिविधिमा रास्वपाका कुनै कार्यकर्ता संलग्न भए कारबाही गरिने र सरकारले पनि कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ।

लामिछानेले विपद् व्यवस्थापनका विषयमा प्रतिपक्षबाट आउने रचनात्मक सुझावलाई सरकारले ग्रहण गर्नुपर्ने बताए। साथै, विपत्तिलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम नबनाउन सबै पक्षलाई आग्रह गरे।

उनले भोटेकोशीजस्ता विपत्तिबाट प्रभावित नागरिक जलवायु अन्यायका पीडित भएको बताए। जलवायु संकटको असमान भारका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायका लागि दृढतापूर्वक आवाज उठाउनुपर्नेमा जोड दिए। नेपालमा भोटेकोशी विपत्तिपछि जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको बहससमेत तीव्र बनेको छ।

“जलवायु सङ्कटको असमान भारका कारण जीवन गुमाउन विवशहरूलाई श्रद्धाञ्जली दिएर मात्रै पुग्दैन, विश्वसँग न्याय माग्ने साहस गर्नुपर्छ,” लामिछानेले भने।

उनले विपद्को समयमा खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताको प्रशंसा गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरे। संकटका बेला सहयोग गर्ने मित्रराष्ट्र, निजी क्षेत्र, सञ्चार क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको भूमिकाको समेत उनले प्रशंसा गरे।

लामिछानेले भोटेकोशी विपत्तिलाई राष्ट्रिय एकता, सहकार्य र जलवायु न्यायका लागि साझा अभियानमा रूपान्तरण गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्