काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङको प्राविधिक सहयोग मागेको छ।
विदेशी विज्ञसहितको उद्धार टोलीलाई आयोजनाको पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय र परामर्शका लागि सेनाले घिसिङलाई बोलाएको हो। सेनाको आग्रहपछि घिसिङ बुधबार चिलिमे जलविद्युत् आयोजनाकै सवारीसाधनमा उद्धारस्थलतर्फ गएको उनको सचिवालयले जनाएको छ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य जारी छ। चिलिमे आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, विदेशी प्राविधिक तथा अन्य उद्धार टोली परिचालित छन्।
उद्धारका क्रममा सुरुङको संरचना, पावरहाउससम्म पुग्ने प्राविधिक अवस्था तथा आयोजनासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्न घिसिङको अनुभव उपयोगी हुने भन्दै सेनाले उनको सहयोग मागेको हो।
यसैबीच, त्रिशूली बाढीमा परी हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको छ भने चार हजारभन्दा बढी अझै बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ।














प्रतिक्रिया दिनुहोस्