images
images

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तनमा जोड

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मंगलबारदेखि न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा सुरु भएको छ। ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारासहित सुरु भएको यस सत्रमा विश्व शान्ति, सुरक्षा र जलवायु परिवर्तनलगायतका विषय प्रमुख प्राथमिकतामा रहनेछन्।

महासभाको ८१औँ सत्रको अध्यक्षता बङ्गलादेशका कूटनीतिज्ञ खालिलुर रहमानले गरेका छन्। उद्घाटनका क्रममा रहमानले विश्व शान्ति, सुरक्षा, न्याय तथा जलवायु परिवर्तनजस्ता चुनौतीमा प्रभावकारी छलफलमार्फत विश्वव्यापी समस्या समाधानका लागि महासभाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

महासभामा दिगो विकासका लक्ष्य कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार, मानवीय संकट, डिजिटल शासन तथा प्रविधिको प्रयोग र बहुपक्षीय हितका लागि राष्ट्रसङ्घलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व विभिन्न किसिमका द्वन्द्व र संकटबाट गुज्रिरहेको अवस्थामा त्यसको समाधानका लागि उपयुक्त रणनीति र कार्यक्रम आवश्यक रहेको बताए। जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन तथा आणविक जोखिमजस्ता चुनौतीले विश्वलाई प्रभावित पारिरहेको उल्लेख गर्दै उनले संवाद, सहकार्य र बहुपक्षीय प्रयासबाट समाधान खोज्न महासभा महत्वपूर्ण मञ्च भएको बताए।

राष्ट्रसङ्घको आधिकारिक कार्यतालिकाअनुसार महासभाको उच्चस्तरीय बैठक तथा मुख्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म हुनेछ। सेप्टेम्बर २३ मा जलवायु कार्य र न्यायोचित संक्रमणसम्बन्धी उच्चस्तरीय बैठकसमेत आयोजना हुँदैछ।

यसैबीच, न्युयोर्कस्थित नेपाली स्थायी नियोगले ८१औँ महासभाबाट रचनात्मक तथा उपलब्धिमूलक संवादको अपेक्षा गरिएको जनाएको छ। नियोगले संवाद र सामूहिक प्रयत्नमार्फत विश्व शान्ति, विकास, मानवीयता तथा जलवायु न्यायका क्षेत्रमा योगदान गर्न नेपाल प्रतिबद्ध रहेको जनाएको छ।

नियोगले महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका बङ्गलादेशी कूटनीतिज्ञ रहमानलाई बधाईसमेत दिएको छ।

महासभा सुरु भएकै दिन राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित मुलुकहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र परिणाममुखी पहल आवश्यक रहेको बताएका छन्।

कम विकसित मुलुकहरूको विकाससम्बन्धी मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकलाई सम्बोधन गर्दै थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनको प्रभाव सामना गर्ने क्षमता, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा तथा दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

उनले कम विकसित मुलुकहरूका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै विकासको गति बढाउन र ठोस परिणाम हासिल गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्