काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू कुनै पनि अवस्थामा विचलित नहुने बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण तथा अवसरविहीनताविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन्।
उनले आन्दोलनलाई परम्परागत राजनीतिक शैलीप्रतिको युवापुस्ताको स्पष्ट ‘अस्वीकृति पत्र’का रूपमा व्याख्या गरेका छन्। डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको र आफ्नै देशमा भविष्य खोजिरहेको युवापुस्ताले कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनले दिएको उनको भनाइ छ।
लामिछानेले जेन–जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई स्वस्फूर्त रूपमा भएको दाबी गर्दै यसको राजनीतिक स्वामित्व लिन खोज्नु गलत हुने बताएका छन्।
‘कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन,’ उनले वक्तव्यमा भनेका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पुगेको दिन आज देशभर त्यसका माग, उपलब्धि र कार्यान्वयनको अवस्थाबारे बहस भइरहेको छ। पछिल्लो एक वर्षमा आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको भए पनि आन्दोलनका मूल मुद्दा कार्यान्वयनबारे प्रश्नहरू अझै उठिरहेका छन्।














प्रतिक्रिया दिनुहोस्