काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ गतेदेखि सुरु नहुने भएको छ। पार्टीभित्रको विवाद समाधान गर्दै सहमति कायम गर्ने प्रयासस्वरूप वडा अधिवेशनको मिति सार्ने निर्णय गरिएको हो।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वडा अधिवेशनको मिति सार्ने निर्णय गरेको हो। नयाँ मिति तय गर्ने जिम्मेवारी केन्द्रीय निर्वाचन समितिलाई दिइएको छ।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार अब निर्वाचन समितिले वडा अधिवेशनको नयाँ मिति तय गर्नेछ। यद्यपि, केन्द्रीय महाधिवेशनको मितिमा भने हेरफेर नगरिने उनले बताएका छन्।
कांग्रेस स्रोतका अनुसार वडा अधिवेशन असोज २ गतेदेखि गर्ने विषयमा तयारी भइरहेको छ। पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेल असोज २ गतेबाट अधिवेशन अघि बढाउने पक्षमा रहेको बताइएको छ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्दै सहमति कायम गर्ने प्रयासस्वरूप महाधिवेशनको प्रक्रिया केही पर धकेल्ने वातावरण बनेको हो। सभापति गगन थापाले शनिबार नेता पूर्णबहादुर खड्का र आइतबार नेता डा. शेखर कोइरालासँग संवाद गरेका थिए।
शेखर पक्षले पार्टी एकता कायम गर्न आवश्यक परे महाधिवेशनको मिति सारेर भए पनि सहमति खोज्नुपर्ने धारणा राखेको बताइएको छ। शेखर निकट स्रोतका अनुसार भेटमा कोइरालाले महाधिवेशन केही समय सारेर भए पनि पार्टीभित्र सहमति कायम गर्नुपर्ने बताएका थिए। सभापति थापाले पनि अधिवेशनको मिति केही पर सारेर भए पनि सहमतिको प्रयास गर्ने बताएका थिए।
यसअघि संस्थापन इतर समूहका नेता रमेश लेखकले पनि पार्टी एकता जोगाउन आफूहरू अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका थिए। उनले पार्टी एकताका लागि आफूहरूले लामो समयदेखि प्रयास गरिरहेको उल्लेख गर्दै अझै पनि पार्टी मिलाउने सम्भावना रहेको बताएका थिए।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यतासम्बन्धी अर्को महत्त्वपूर्ण निर्णय पनि गरेको छ। गत पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका तर डिजिटल प्रणालीमा अद्यावधिक हुन बाँकी रहेका सदस्यलाई पनि आसन्न महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गर्ने निर्णय गरिएको हो।
पार्टी छाडिसकेका, मृत्यु भएका तथा अन्य कारणले अयोग्य भएका सदस्यबाहेक पुससम्म सदस्यता नवीकरण गरेका व्यक्तिलाई डिजिटल अद्यावधिक नभएको कारण मात्र महाधिवेशनबाट वञ्चित नगरिने कांग्रेसले जनाएको छ।
सहमहामन्त्री चौधरीले यस निर्णयले लामो समयदेखि देखिएको सदस्यता अद्यावधिकसम्बन्धी विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
बैठकमा विशेष महाधिवेशनबाट संशोधित विधानमा भएको व्यवस्थाबारे पनि छलफल भएको थियो। पालिका सभापतिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको विषयमा नेताहरूले धारणा राखेका थिए।
प्रदेशसभा क्षेत्रीय सभापतिहरूलाई पनि स्वतः महाधिवेशन प्रतिनिधि बनाउने विषय बैठकमा उठेको थियो। त्यसक्रममा सभापति थापाले विधानमा व्यवस्था गर्दा छुटेको भन्दै प्रदेशसभा क्षेत्रीय सभापतिहरूलाई पनि पालिका सभापतिहरूजस्तै स्वतः महाधिवेशन प्रतिनिधि बनाउने जानकारी गराएको बताइएको छ।
बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको विवाद समाधान गर्दै एकताबद्ध भएर महाधिवेशनमा जानुपर्नेमा जोड दिएका थिए। सभापति थापाले आफू पार्टी विवाद समाधानका लागि गम्भीर र जिम्मेवार ढंगले सबै पक्षसँग संवादमा रहेको बताएका थिए।
आइतबारको बैठकको सुरुवातमै रसुवालगायत क्षेत्रमा गएको बाढीपहिरो र त्यसबाट भएको क्षतिबारे पनि छलफल भएको थियो। त्यसपछि बैठक पार्टीको आन्तरिक विषयमा केन्द्रित भएको थियो।
बैठकमा विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले पार्टीको महाधिवेशन, क्रियाशील सदस्यता व्यवस्थापन र आन्तरिक विवादलगायत विषयमा धारणा राखेका थिए।
आइतबार बैठक सम्पन्न हुन नसकेपछि सोमबार दिउँसो १ बजे पुनः बैठक बस्ने गरी स्थगित गरिएको छ।














प्रतिक्रिया दिनुहोस्