images
images

महासभामा जानुअघि बालेनलाई गगनको सुझाव : ‘तथ्यसहित नेपालको कुरा राख्नुस्’

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी संयुक्त राष्ट्रसंघ महासभा सहभागितालाई नेपालको हितमा प्रयोग गर्नुपर्ने बताएका छन्।

आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले प्रधानमन्त्रीको विदेश भ्रमण केवल औपचारिक कार्यक्रम पूरा गर्ने विषयमा सीमित हुन नहुने धारणा राखेका हुन्।

उनले महासभामा नेपालका समस्या र मागलाई भावनात्मक रूपमा मात्र नभई तथ्य तथा वैज्ञानिक प्रमाणका आधारमा अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गर्नुपर्ने बताए।

विशेषगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरलाई विश्वमञ्चमा प्राथमिकताका साथ उठाउनुपर्ने थापाको भनाइ छ। भोटेकोशी बाढीजस्ता पछिल्ला प्राकृतिक विपत्तिलाई नेपालको जलवायु जोखिम र क्षतिको प्रमाणका रूपमा प्रस्तुत गर्न सकिने उनले बताए।

थापाले प्रधानमन्त्रीको सचिवालयमा मात्र भर नपरी सम्बन्धित विषयका विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा नेपाल र विदेशमा रहेका दक्ष जनशक्तिसँग परामर्श गर्न सुझाव दिएका छन्।

नेपालले विगतमा संयुक्त राष्ट्रसंघ, कोपलगायतका अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका जलवायु न्याय, हिमाल तथा जलवायु वित्तका विषयलाई पनि नयाँ तथ्य र प्रमाणसहित निरन्तरता दिनुपर्ने उनले बताए।

उनका अनुसार नेपालले जलवायु परिवर्तनबाट भएको हानि–नोक्सानीको विषय उठाउनुका साथै अनुदानमा आधारित जलवायु वित्त प्राप्तिका लागि समेत अन्तर्राष्ट्रिय तहमा प्रभावकारी पहल गर्न आवश्यक छ।

थापाले यसअघि नेपालका प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र गरेका पहलबाट समेत सिकेर वर्तमान सरकारको तयारी अघि बढाउनुपर्ने बताए।

प्रधानमन्त्रीको महासभा भ्रमणलाई प्रदर्शनका रूपमा नभई देशका लागि परिणाम निकाल्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको सुझाव छ। पर्याप्त तयारी र विज्ञहरूको सुझावसहित प्रस्तुत हुन सके नेपालले आफ्ना मुद्दालाई अन्तर्राष्ट्रिय समुदायमाझ थप बलियो रूपमा स्थापित गर्न सक्ने थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्