काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३३९ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये दुई हजार ८६३ स्वदेशी पुरुष, ५७५ महिला, २६९ विदेशी पुरुष, ३३२ विदेशी महिला तथा पाँच जना अन्य रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये एक हजार ३७ वटा सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।
यसैगरी, मृतक एक हजार २८६ जना र मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ।
बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डीएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताउनुभयो।
भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन्।














प्रतिक्रिया दिनुहोस्