images
images

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने भएका छन्।

नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि २४ सेप्टेम्बरमा सम्बोधन गर्ने समय तय गरेको हो। राष्ट्रसंघ मुख्यालयबाट प्राप्त उक्त जानकारी न्युयोर्कस्थित नेपाली नियोग हुँदै परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयमा पुगेको छ।

संशोधित कार्यतालिकाअनुसार २४ सेप्टेम्बरमा दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म १८ देशका नेताले महासभालाई सम्बोधन गर्नेछन्। उक्त सूचीमा नेपालका ‘हेड अफ गभर्मेन्ट’लाई १७औँ वक्ताका रूपमा राखिएको छ।

यसअघि महासभामा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने तयारी थियो। तर रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी तथा विपद्पछि प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी भएर सम्बोधन गर्ने निर्णय भएको हो।

महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद् र त्यसबाट भइरहेको क्षतिको विषयलाई प्रमुखताका साथ उठाउने तयारी गरिएको छ। विशेषगरी भोटेकोसीमा आएको विपद्लाई विश्व तापमान वृद्धिसँग जोड्दै नेपालले भोग्नुपरेको क्षति, जलवायु न्याय र क्षतिपूर्तिको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण भने छोटो बनाउने तयारी भइरहेको छ। देश विपद्पछि उद्धार तथा राहत व्यवस्थापनको चरणमा रहेकाले महासभामा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री स्वदेश फर्किने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्रीको समयअनुसार मात्रै न्युयोर्कमा हुने ‘साइडलाइन’ भेटवार्ताको टुंगो लाग्ने बताइएको छ। सम्भावित भेटवार्तामा अमेरिका, चीन र भारतका नेतृत्वसँग भेटलाई प्राथमिकता दिन सकिने भए पनि अहिलेसम्म ती भेटवार्ता औपचारिक रूपमा तय भएका छैनन्।

राष्ट्रसंघको हालको कार्यतालिकामा भारतबाट विदेशमन्त्री एस जयशंकरले महासभालाई सम्बोधन गर्ने उल्लेख छ। त्यस्तै, सेप्टेम्बर २६ मा चीनका उपराष्ट्रपति हान चङ र भारतीय विदेशमन्त्री जयशंकरले सम्बोधन गर्ने कार्यक्रम छ। चीनका राष्ट्रपति सी चिनफिङको सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमण तय भए पनि महासभामा सहभागी हुने कार्यक्रम भने छैन।

प्रधानमन्त्री बनेको करिब पाँच महिनापछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। प्रधानमन्त्री भएपछि उनले अहिलेसम्म कुनै देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका छैनन्।

यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो। तर भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विपद्पछि भदौ १८ गते प्रधानमन्त्री शाह आफैँ महासभामा जाने निर्णय भएको हो। त्यसपछि परराष्ट्रमन्त्री खनाल प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहसँगै प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

त्यस्तै, परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल तथा न्युयोर्कस्थित नेपाली नियोग प्रमुख लोकबहादुर थापा पनि प्रतिनिधिमण्डलमा सहभागी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्