images
images

गृहमन्त्री गुरुङले भने– ‘म कहाँ बसेको छु भन्दा परिणाममा ध्यान दिनुस्’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुरानो र नयाँ नेतृत्वको कार्यशैलीबीचको फरकलाई ‘जेनेरेसन ग्याप’को संज्ञा दिएका छन्। भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा आफू प्रत्यक्ष फिल्डमा खटिएको विषयलाई लिएर पुरानै शैलीमा नेतृत्व गर्न दबाब दिइएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। उनले नेतृत्व कहाँ बसेर काम गरिरहेको छ भन्नेभन्दा विपद् प्रतिकार्यमा आएको परिणामलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवितै उद्धार भएपछि गृहमन्त्री गुरुङले अक्सिजन सिलिन्डर आफैं बोकेको भिडिओ सामाजिक सञ्जालमा चर्चामा आएको थियो। त्यसपछि उनको कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका बेला उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको बताएका छन्। उनका अनुसार अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक भइरहेका छन्।

‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (GENERATION GAP),’ उनले लेखेका छन्।

उनले विगतमा फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दा त्यसको परिणाम भोग्नुपरेको दाबी गरेका छन्। पुरानो प्रणालीभन्दा फरक र उत्कृष्ट परिणामको अपेक्षा गर्नेहरूले आफूहरूलाई फेरि त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा आफूलाई अचम्म लागेको उनको भनाइ छ।

गुरुङले टेबल पछाडि बसेर काम गर्नुभन्दा डिजिटल माध्यमबाट काम छिटो र प्रभावकारी भइरहेको दाबीसमेत गरेका छन्।

‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ। त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्न चाहन्छु,’ उनले भनेका छन्।

भोटेकोशी बाढीपछि खोज तथा उद्धार अभियानका क्रममा सरकारको नेतृत्व र कार्यशैलीलाई लिएर सार्वजनिक रूपमा बहस भइरहेका बेला गृहमन्त्री गुरुङको यस्तो धारणा आएको हो।

प्रतिक्रिया दिनुहोस्