काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा १९० तथा भारतमा १८ वटा शव फेला परेका छन्। भारतको सीमावर्ती क्षेत्रमा फेला परेका शव नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये हालसम्म ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।
पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म ८९७ वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शवमध्ये २१३ महिला, ३१४ पुरुष र ३७० जनाको लिङ्ग पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
पहिचान हुन बाँकी ९५९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका चार हजार ८७५ जनाको खोजी भइरहेको छ। नुवाकोट, रसुवालगायत जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार १२६ जनाले आश्रय लिइरहेका छन्।














प्रतिक्रिया दिनुहोस्