काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहले सबैलाई विश्वासमा लिएर अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोशी बाढीबारे बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले विपद्को समयमा सरकारको नेतृत्व संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए। सबै दलको सहयोग हुँदाहुँदै पनि सरकारले त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्न नसकेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले संसद्मा आएर बाढीपछिको अवस्थाबारे जानकारी गराएकोमा धन्यवाद दिँदै प्रचण्डले अन्य दल र सांसदका अनुभव तथा सुझावलाई समेत महत्त्व दिनुपर्ने बताए।
‘सरकारको मुख्य नेतृत्व संवेदनशील र जिम्मेवार हुनुपर्ने हो। आज आउनुभयो, केही ब्रिफिङ सुनाउनुभयो। म उहाँलाई यसअर्थमा धन्यवाद नै भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ। अरूका अनुभव पनि महत्त्वपूर्ण हुन सक्छन् भन्नेतिर ध्यान दिए जस्तो लागेन।’
प्रधानमन्त्री शाहले आफ्नै दलका सांसदलाई समेत विश्वासमा लिन प्रयास नगरेको प्रचण्डको आरोप थियो। संसद्लाई विश्वासमा लिनु भनेको प्रतिपक्षी सांसदलाई मात्र नभई आफ्नै दलका सांसदलाई समेत विश्वासमा लिनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाह संसद्लाई सम्बोधन गरेपछि बाहिरिएको र त्यसपछि अन्य सांसदका सम्बोधन नसुनेको तथा कुनै पनि दलका सांसदसँग सामान्य संवादसमेत नगरेको प्रसंग उल्लेख गर्दै प्रचण्डले प्रश्न उठाए।
‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ। यो के तरिका हो ?’ प्रचण्डले भने, ‘यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि।’
विपद्को समयमा सबै दल प्रधानमन्त्री शाहलाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री आफैं एक्लै हिँड्न खोजेको जस्तो देखिएको बताए।
‘कसैको पनि अनुहार हेर्नु नपर्ने के हो, त्यो तरिका ? यो तरिकाले हुँदैन,’ उनले भने।














प्रतिक्रिया दिनुहोस्