काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म विभिन्न प्रभावित जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
हालसम्म तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन्।
बाढीबाट २७९ जना घाइते भएका छन्। उपचारपछि विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन्।
प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव संकलन तथा उद्धार र राहत कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्