काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार तीन सय १८, नेपाली सेनाका दुई हजार तीन सय ५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार सात सय ४२ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म हेलिकोप्टरमार्फत २३९ वटा उडान गरी खोज तथा उद्धार कार्य गरिएको छ। तीमध्ये नेपाली सेनाका हेलिकोप्टरबाट २११ र निजी क्षेत्रका हेलिकोप्टरबाट २८ वटा उडान गरिएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कामसमेत निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा मिसिएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम सिर्जना भएको प्राधिकरणले जनाएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा जनधनको क्षति भएको छ।
खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरिएको छ।
घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहित स्वास्थ्य टोली परिचालन गरिएको छ।
बाढी प्रभावित नागरिकका लागि नेपाली सेनाका ब्यारेकमा अस्थायी आवास, भोजन, खानेपानी तथा औषधिको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्