images
images

तिब्बतबाट आएको बाढीबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ११ भदौ। तिब्बततर्फबाट आएको बाढीबाट नेपालमा भएको जनधनको क्षति, जारी उद्धार तथा राहत र आगामी पुनर्स्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपा सचिवालयका अनुसार सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बिहान ९ बजे बैठक बस्ने तय भएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

तिब्बत क्षेत्रबाट आएको बाढीका कारण नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा नदीको कटानबाट भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती तथा भौतिक संरचनामा क्षति पुगेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्थानीय तह तथा स्थानीय बासिन्दाको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको छ। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त संरचनाको पुनर्स्थापनाका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

रास्वपाले विपद्को अवस्थामा राजनीतिक दलहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित क्षेत्रको तत्कालीन उद्धारसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि साझा धारणा बनाउन सर्वदलीय छलफल आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्