images
images

कालो चस्मा लगाउनुपर्ने कारणसहित संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए स्वास्थ्य रिपोर्ट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थासम्बन्धी परीक्षण प्रतिवेदनसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन्।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण प्रतिवेदनसहितको पत्र सचिवालयमा प्राप्त भएको पुष्टि गरेका छन्।

यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् बैठकमा सांसदहरूलाई कालो चस्मा नलगाउन निर्देशन दिएका थिए। स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था भए त्यसको प्रमाणस्वरूप स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्नुपर्ने सभामुखको भनाइ थियो।

त्यसपछि प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षणको रिपोर्टसहित संसद् सचिवालयमा पत्र पठाएका हुन्। प्रधानमन्त्री शाहले गत २२ साउनमा छाउनी अस्पतालमा आँखाको परीक्षण गराएका थिए। अस्पतालको परीक्षणमा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएपछि कालो चस्मा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको रिपोर्ट २६ साउनमा संसद् सचिवालय पठाइएको जनाइएको छ।

प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभामा हुने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने कार्यक्रम छ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ।

यसै व्यवस्थाअनुसार बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो। संसद्मा उपस्थित हुँदा प्रधानमन्त्री शाहले स्वास्थ्य कारणले कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको जानकारीसहितको पत्र संसद् सचिवालयमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्