काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले बलात्कार, यौनहिंसा, हत्या तथा बालबालिकामाथि हुने जघन्य अपराध नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था संशोधन गरी दोषीमाथि कडा कारबाहीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले पछिल्लो समय बढ्दै गएका यौनहिंसा तथा जघन्य अपराधका घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्। उनीहरूले दोषीलाई कडा सजायसँगै यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, जनचेतना र कानुनी सुधार आवश्यक रहेको बताए।
सांसद अनुश्का श्रेष्ठले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाही हुने कानुनी व्यवस्था गर्न माग गरिन्। सांसद अफ्साना बानुले आवश्यक परे संविधान संशोधन गरेर भए पनि जघन्य अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन्।
सांसद डा. अमरेशकुमार सिंहले अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकार गम्भीर रूपमा प्रस्तुत हुनुपर्ने बताए। सांसद आशिका तामाङले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको कानुनी व्यवस्था नभएसम्म यस्ता घटना न्यूनीकरण गर्न कठिन हुने बताइन्।
त्यस्तै, सांसद एलिजा गुरुङले बालयौन हिंसा रोक्न विद्यालय तहदेखि नै उचित शिक्षा र सचेतना आवश्यक रहेको बताइन्। सांसद क्रान्तिशिखा धितालले घरेलु हिंसा, यौन दुर्व्यवहार तथा बाल हिंसासम्बन्धी प्रारम्भिक उजुरीलाई प्राथमिकताका साथ लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद गीताकुमारी सेन्दाङ, खगेन्द्र सुनार, कन्हैया बनिया, गुरुप्रसाद बराललगायतले पनि महिला तथा बालिकामाथि हुने हिंसा र जघन्य अपराध रोक्न कडा कानुनी कारबाही तथा सुरक्षा व्यवस्था मजबुत बनाउन सरकारसँग माग गरे।
सांसदहरूले कारबाहीपछि मात्र होइन, अपराध हुनै नदिने वातावरण निर्माण गर्न राज्यका सुरक्षा तथा न्यायिक संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका छन्।
बैठकमा जघन्य अपराधबाहेक खानेपानी, सडक पूर्वाधार, वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य, आर्थिक नीति, विपद् व्यवस्थापन तथा युवाका रोजगारीका विषयमा समेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।














प्रतिक्रिया दिनुहोस्