images
images

प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्मा एकैदिन पोखरामा, संयोग कि पूर्वयोजना?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुक्रबार काठमाडौंमा बसिरहेका बेला प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ भने पोखरातर्फ लागेका छन्। प्रधानमन्त्री शाह सडकमार्ग हुँदै पोखरा पुगेपछि मुस्ताङतर्फ जाने तयारीमा रहेको सुरक्षा स्रोतले जनाएको छ।

रोचक संयोग के छ भने प्रधानमन्त्री शाह पोखरा पुगेकै दिन प्रधानन्यायाधीश मनोजकुमार शर्मा पनि पोखरा पुगेका छन्। प्रधानन्यायाधीश शर्मा शुक्रबार बिहानै पोखरा पुगेका हुन्।

प्रधानमन्त्री शाहको पोखरा हुँदै मुस्ताङ भ्रमणबारे सुरक्षा निकायले जानकारी दिए पनि उनको भ्रमणको उद्देश्य भने स्पष्ट पारिएको छैन। प्रधानमन्त्रीको सचिवालयले समेत भ्रमणको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छैन।

यता, प्रधानन्यायाधीश शर्मा पनि पोखरामै रहेकाले प्रधानमन्त्री शाह र प्रधानन्यायाधीश शर्माबीच भेटवार्ता हुने वा नहुनेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

प्रधानमन्त्री शाह र प्रधानन्यायाधीश शर्मा एकै दिन पोखरा पुग्नुलाई सामान्य संयोग मान्ने कि कुनै पूर्वनिर्धारित कार्यक्रमको हिस्सा भन्ने प्रश्नसमेत उठेको छ। अझ प्रधानमन्त्रीले रास्वपाको महत्वपूर्ण केन्द्रीय समिति बैठककै दिन काठमाडौं छाडेर पोखरा हुँदै मुस्ताङको यात्रा तय गर्नुले यसलाई थप चासोको विषय बनाएको छ।

रास्वपा बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज, सांगठनिक व्यवस्थापन तथा विभिन्न पदाधिकारी र समितिको मनोनयनलगायत महत्वपूर्ण विषयमा छलफल हुँदैछ। यस्तो महत्वपूर्ण बैठककै दिन प्रधानमन्त्री शाह पार्टी बैठकमा सहभागी नभई पोखरातर्फ लागेका हुन्।

हालसम्म प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट हुने कुनै आधिकारिक पुष्टि छैन। त्यसैले दुवै जना एकै दिन पोखरा पुग्नु संयोग मात्रै हो वा कुनै पूर्वयोजना? यसको स्पष्ट उत्तर भने सम्बन्धित पक्षबाट आएको छैन।

तर प्रधानमन्त्री र प्रधानन्यायाधीश एकै दिन पोखरामा रहनुले राजनीतिक तथा कानुनी वृत्तमा भने चासो बढाएको छ। आखिर पोखरामा के पाक्दै छ? यसको जवाफका लागि औपचारिक कार्यक्रम र आगामी घटनाक्रम पर्खनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्