images
images

मर्यादामा बस्न सभामुखले निर्देशन दिएपछि रिसाउँदै बैठकबाट निस्किइन् आशिका

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ प्रतिनिधिसभाको बैठकबाट बाहिरिएकी छन्।

मन्त्री खनालले जवाफ दिइरहेका बेला सांसद तामाङले उठेर आफूलाई प्रश्न राख्न समय दिनुपर्ने माग गरेकी थिइन्। तर सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय नदिएको भन्दै आफ्नो आसनमा बस्न निर्देशन दिए।

सभामुखले पटक–पटक बस्न आग्रह गरे पनि तामाङले आफूले बोल्न पाउनुपर्ने अडान कायम राखेपछि सभामुखले उनलाई सभाको मर्यादामा रहन निर्देशन दिए।

सभामुखको निर्देशनपछि तामाङ झोला बोकेर आक्रोशित मुद्रामा बैठक कक्षबाट बाहिरिएकी थिइन्।

सांसद तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा सरकारसँग जवाफ माग्दै आएकी थिइन्। सोही विषयमा हिजो सभामुखले सरकारलाई रुलिङ गरेका थिए। त्यसको जवाफ आज परराष्ट्रमन्त्री खनालले दिएका थिए।

तर मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै तामाङले तत्कालै प्रतिक्रिया जनाउन खोजेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्