काठमाडौं । यस वर्ष तीजका धेरै गीत निर्देशन गर्ने निर्देशकको अग्रपंक्तिमा छन् प्रकाश भट्ट। आफ्नो कामप्रतिको मेहनत, लगन र हरेक सिर्जनामा फरकपन दिने प्रयासका कारण उनी पछिल्लो समय धेरै कलाकारको रोजाइमा पर्ने गरेका छन्।
यसैबीच भट्टको निर्देशनमा तयार भएको नयाँ गीत ‘छोरो बनाइदेऊ’ अहिले चर्चामा छ। गीतको भिडियोमा उनले नेपाली समाजमा विद्यमान महिला हिंसाको विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्।
गीतको कथावस्तु, दृश्य प्रस्तुति र नृत्यलाई उत्कृष्ट ढंगले संयोजन गर्दै भट्टले महिलाले भोग्दै आएका पीडा र सामाजिक विभेदलाई भिडियोमार्फत दर्शाउने प्रयास गरेका छन्। गीतको विषयवस्तुसँग मिल्ने गरी कथा र नृत्यको संयोजन गरिएकाले भिडियो प्रभावशाली बनेको छ।
शान्तिश्री परियारको स्वर रहेको गीत बसन्त थापाले लेखेका हुन्। गीतको भिडियोमा अञ्जली अधिकारी र बसन्त थापासहितका कलाकारको अभिनय देख्न सकिन्छ।
भट्टले भिडियोमा नृत्य संयोजनलाई पनि विशेष प्राथमिकता दिएका छन्। गीतको भाव र कथालाई नृत्यमार्फत प्रस्तुत गर्ने प्रयासले भिडियोमा थप प्रभावकारिता ल्याएको छ।
महिलाले समाजमा भोग्ने पीडा, हिंसा र विभेदलाई केन्द्रमा राखिएको ‘छोरो बनाइदेऊ’ प्रकाश भट्टले निर्देशन गरेका गीतमध्ये फरक र प्रभावशाली सिर्जनाका रूपमा देखिएको छ। तीज गीतको भिडमा विषयवस्तु र प्रस्तुतिका हिसाबले यो गीतले दर्शकको ध्यान तान्न सफल भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्