काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सम्पत्ति र आर्जित नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न तथा नयाँ प्रविधि भित्र्याउन आग्रह गरे। उनले सरकार लगानीकर्ताको साथमा रहेको स्पष्ट पारे।
उनले लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमानयोग्य रहेको विश्वास गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए। यस्तो विश्वास निर्माण भए मात्रै ठूलो लगानी भित्रिने र उद्योग विस्तार हुने उनको भनाइ थियो।
उद्यमीले उठाएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गर्ने र अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरी निरन्तर अनुगमन गर्ने उनले जानकारी दिए।
अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप बलियो बनाउँदै आगामी दशकलाई ठूलो लगानी, उत्पादन र रोजगारी सिर्जनाको दशक बनाउने लक्ष्य रहेको बताए।
छलफलमा सूर्य नेपाल, एनसेल, डाबर नेपाल, युनिलिभर नेपाल, गोर्खा ब्रुअरी, होङ्शी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, एशियन पेन्ट्सलगायत २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस्