images
images

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत मन्त्रालयले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई छलफलमा बोलाएको हो।

छलफलमा बहुराष्ट्रिय कम्पनीले बजेटमार्फत पाएका सुविधा, नेपालमा लगानी गर्दा भोगिरहेका समस्या तथा लगानी विस्तारका विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, नेपालमा थप लगानी, रोजगारी सिर्जना र लगानीबाट प्राप्त प्रतिफल फिर्ता लैजाँदा सरकारले गर्नुपर्ने सहजीकरणबारे पनि कम्पनीका प्रतिनिधिसँग सुझाव लिइनेछ। उनीहरूलाई आफ्ना समस्या तथा सुझाव लिखित रूपमा समेत पेश गर्न आग्रह गरिने बताइएको छ।

बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलामा यसअघि अर्थमन्त्री वाग्लेले उत्पादनमूलक उद्योग सञ्चालन गर्दै ठूलो रोजगारी सिर्जना गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्। उनले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग पनि छलफल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्