images
images

चिकित्सक संघको आन्दोलनले देशभर अस्पताल सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित भएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा संघले आन्दोलन घोषणा गरेको हो।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्न आह्वान गरेको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीमाथि कारबाही गर्न र सुरक्षित कार्य वातावरण निर्माण गर्न माग गर्दै आन्दोलन गरिएको संघले जनाएको छ।

सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी तथा सेवाग्राही प्रभावित भएका छन्। काठमाडौँका नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायतका अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा रहे पनि अन्य सेवा बन्द हुँदा बिरामीको चाप बढेको छ।

कतिपय बिरामी उपचार सेवा नपाएपछि अस्पतालबाट फर्किन बाध्य भएका छन् भने आकस्मिक कक्षबाट सेवा लिन खोज्ने बिरामीको संख्या बढ्दा त्यहाँ पनि चाप देखिएको छ।

चिकित्सक संघले आफ्ना माग तत्काल सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। यता, सरकारले घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्